ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार भीषण आगलागी हुँदा करिब १० वटा घर जलेर नष्ट भएका छन्।
स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिनुभएको छ। करिब ५० घरधुरी रहेको बाक्लो बस्ती भएको दोभान बजारमा आगो तीव्र रूपमा फैलिएपछि ठूलो भौतिक क्षति भएको हो।
आगो अन्य घरहरूमा फैलिन नदिन तथा नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी खटिएका थिए। सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजङ्घा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो। दमकल र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा लिइएको तथा क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ।




