एसियन गेम्स क्रिकेटः वर्षाका कारण खेल रद्द, नेपाल प्रतियोगिताबाट बाहिरियो

प्रकाशित मिति:

काठमाडौं । जापानमा जारी बीसौँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

नागोयास्थित कोरोगी स्पोर्ट्स पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलङ्काबीचको खेल प्रतिकूल मौसमका कारण सुरु हुन सकेन। लगातारको वर्षाले गर्दा मैदान खेल्न योग्य नभएपछि टससमेत हुन नसकी खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको छ। खेल नभएपछि सेमिफाइनल पुग्ने नेपालको लक्ष्य अधुरै रहन पुगेको छ।

प्रतियोगिताको नियमावलीअनुसार वर्षा वा अन्य कारणले नकआउट खेल हुन नसकेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोली स्वतः अघिल्लो चरणमा पुग्ने व्यवस्था छ। सोही प्रावधानका आधारमा विश्व वरियतामा नवौँ स्थानमा रहेको श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेको हो भने चौधौँ स्थानमा रहेको नेपाल प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

नागोयामा शनिबारदेखि नै निरन्तर वर्षा भइरहेको थियो। यसअघि समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको नेपालले जापानसँगको खेल पनि वर्षाकै कारण रद्द भएपछि अङ्क बाँड्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।

ताजा समाचार