बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना दोषी ठहर भएका छन्। विशेष अदालतले उनीहरूलाई जनही तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।
दोषी ठहर हुनेहरूमा बुढीगंगा नगरपालिकाका तत्कालीन नगरप्रमुख दीपकविक्रम शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, तत्कालीन इन्जिनियर पारस खाती, तत्कालीन सब–इन्जिनियर गणेशराज रेग्मी र जागृति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकाया रहेका छन्।
उक्त मुद्दामा प्रतिवादी बनाइएका १४ जनामध्ये अन्य नौ जनालाई भने विशेष अदालतले सफाइ दिएको छ। सफाइ पाउनेहरूमा तत्कालीन छैटौँ तहका प्रशासन अधिकृत नरेन्द्र नाथ, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब–इन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी, प्रशासन सहायक बसन्तबहादुर थापा तथा जागृति र एम.के. नेपाल संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सुरतबहादुर शाह रहेका छन्।




