काठमाडौं । नेपाल र इजरायल सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा कामका लागि १ हजार ४६४ जना नेपाली सहायक कामदार (केयरगिभर) को माग गरिएको छ। वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट अनलाइन दरखास्त आह्वान गरेको हो।
विभागका अनुसार कुल मागमध्ये १ हजार १३२ महिला र ३३२ पुरुष कामदार छनोट गरिनेछ। छनोट हुने कामदारले मासिक ६ हजार ४४३ दशमलव ८५ इजरायली मुद्रा (करिब ३ लाख २३ हजार नेपाली रुपियाँ) पारिश्रमिक पाउनेछन्। कामदारले हप्ताको ६ दिन दैनिक सात घण्टाका दरले प्रतिहप्ता ४२ घण्टा काम गर्नुपर्नेछ। सुरुको करार अवधि एक वर्षको हुने र रोजगारदाताको सहमतिमा अधिकतम पाँच वर्षसम्म थप हुन सक्ने व्यवस्था छ। ओभरटाइम, बिदा तथा आवास सुविधा इजरायली श्रम कानुनअनुसार उपलब्ध हुनेछ।
इच्छुक आवेदकले भदौ २३ गते राति १२:०० बजेदेखि आगामी असोज २६ गतेसम्म विभागको वेब पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, उचाइ कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ किलोग्राम हुनुपर्ने मापदण्ड तोकिएको छ। यस्तै, कक्षा १० उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी कम्तीमा १५ महिनाको कोर्स पूरा गरेको वा कक्षा १२ उत्तीर्ण भई मान्यताप्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको केयरगिभिङ तालिम लिएको तथा अङ्ग्रेजी भाषा परीक्षण उत्तीर्ण गरेको हुनुपर्नेछ।




