भारी वर्षाको जोखिमले सुदूरपश्चिममा लामो दूरीका बस बन्द

प्रकाशित मिति:

धनगढी । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सम्भावित भारी वर्षा, बाढी तथा पहिरोको उच्च जोखिमलाई दृष्टिगत गरी सुदूरपश्चिम प्रदेशबाट छुट्ने लामो दूरीका सार्वजनिक बस सेवा स्थगित गरिएको छ। पर्याप्त पूर्वसूचनाबिना एक्कासि यातायात सेवा रोकिएपछि उपचारका लागि आएका बिरामी, भारतबाट फर्केका नेपाली तथा चाडपर्वमा घर जान हिँडेका यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।

यातायात व्यवसायी समितिहरूले सरकारको निर्देशन र सडक सुरक्षालाई ध्यानमा राख्दै शुक्रबारदेखि आगामी आइतबारसम्मका लागि लामो दूरीका सम्पूर्ण सवारी साधन बन्द गर्ने निर्णय गरेका हुन्। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अनुसार बिहीबार साँझदेखि नै काठमाडौँ र पोखराका लागि छुट्ने दैनिक १५ वटा रात्री बस रोकिएको थियो भने शुक्रबार बिहानदेखि सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा चल्ने दिवा सेवासमेत पूर्ण रूपमा स्थगित गरिएको छ।

लामो दूरीका साधन नचल्दा यात्रुहरू महँगो भाडा तिरेर जोखिमपूर्ण रूपमा साना तथा छोटो दूरीका सवारीमा यात्रा गर्न बाध्य भएका छन्। तर ग्रामीण सडकहरूमा साना सवारीसाधनसमेत पर्याप्त नहुँदा समस्या थप जटिल बनेको छ। यातायात व्यवसायीहरूले यात्रु तथा सवारीको सुरक्षालाई प्राथमिकता दिएर सेवा रोक्नुपरेको जनाउँदै मौसममा सुधार नआएसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि सम्बन्धित काउन्टरमा सम्पर्क गरी सडक अवस्थाबारे बुझ्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

ताजा समाचार