काठमाडौं । निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमको दूरसञ्चार सेवा देशका विभिन्न भागमा प्रभावित भएको छ। २०८३ असोज ८ गतेदेखि सुरु भएको प्रतिकूल मौसमी अवस्थाका कारण सेवा प्रवाहमा अवरोध पुगेको टेलिकमले जनाएको छ।
नेपाल टेलिकमका अनुसार भारी वर्षा र पहिरोले अप्टिकल फाइबरमा क्षति पुर्याउनुका साथै विद्युत् आपूर्ति बन्द हुँदा सेवा सञ्चालनमा समस्या आएको हो। निरन्तरको बादल, वर्षा र हिमपातका कारण सोलार प्रणालीबाट चल्ने साइटहरूको प्रभावकारिता घट्दा टावरहरू बन्द हुन पुगेका छन्। बाढीपहिरोले सडक अवरुद्ध हुँदा प्राविधिक टोलीलाई प्रभावित कार्यस्थलसम्म पुग्न निकै कठिनाइ भइरहेको कम्पनीले स्पष्ट पारेको छ।
प्रतिकूल अवस्थाका बाबजुद प्राविधिक प्रणाली (सिस्टम) बाट सम्भव हुने मर्मतसम्भार कार्य तत्कालै भइरहेको टेलिकमले सूचनामार्फत जानकारी दिएको छ। मौसममा सुधार आउनासाथ भौतिक रूपमा क्षति पुगेका क्षेत्रमा प्राविधिक जनशक्ति खटाउने गरी सम्पूर्ण टोलीलाई तयारी अवस्थामा राखिएको छ।
सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति टेलिकमले क्षमायाचना गर्दै यस्तो विपद्को कठिन घडीमा धैर्यता देखाएकोमा ग्राहकप्रति आभार प्रकट गरेको छ।




