महाकालीको झोलुङ्गे पुल बीचबाट चुँडियो, दोधारा–चाँदनीको आवतजावत ठप्प

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल बीच भागबाट चुँडिएपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ।

स्थानीयका अनुसार मंगलबार रातिदेखि नै पुलको एक भाग अस्वाभाविक रूपमा माथि उठेको देखिएको थियो। बुधबार बिहान करिब ८ बजेतिर पुलको बीच भाग अचानक चुँडिएपछि पुलबाट हुने आवतजावत बन्द भएको हो।

स्थानीयले पुलको बीच भागमा रहेको एउटा पिल्लरसमेत देखिन छाडेको बताएका छन्। पुल कुन कारणले चुँडिएको हो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। घटनापछि पुलको प्राविधिक अवस्था तत्काल जाँच तथा निरीक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ।

महाकाली नदीमाथि निर्माण गरिएको उक्त झोलुङ्गे पुलले भीमदत्त र दोधारा–चाँदनीबीचको आवतजावतलाई सहज बनाउँदै आएको थियो। पुल सञ्चालनमा आएपछि स्थानीयको दैनिक आवतजावत सहज हुनुका साथै दोधारा–चाँदनी क्षेत्रमा पर्यटन गतिविधिसमेत बढ्दै गएको थियो।

महाकाली नदीको दृश्य तथा झोलुङ्गे पुल अवलोकन गर्न हरेक वर्ष ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका छन्। पर्यटकको चहलपहल बढेसँगै पुल आसपास चिया–नास्ता पसल, होटल तथा अन्य व्यवसाय सञ्चालनमा आएका थिए। यसबाट स्थानीयस्तरमा रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना भएको थियो।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दूरीमा रहेको यो पुलको लम्बाइ १ हजार ४५२.९६ मिटर र चौडाइ १.६ मिटर रहेको बताइएको छ। यसको लामो स्पान २२५.४० मिटर रहेको छ।

महाकाली नदीमा पुल नहुँदा विगतमा दोधारा–चाँदनीका नागरिकले आवतजावतमा लामो समयदेखि समस्या भोग्दै आएका थिए। झोलुङ्गे पुल निर्माण भएपछि वर्षौँदेखिको आवतजावतको समस्या धेरै हदसम्म समाधान भएको थियो।

तर, अहिले पुल नै चुँडिएपछि दोधारा–चाँदनीका नागरिक पुनः आवतजावतको समस्यामा पर्ने अवस्था सिर्जना भएको छ। स्थानीयले पुलको तत्काल प्राविधिक परीक्षण गरी आवश्यक मर्मत तथा यथाशीघ्र सञ्चालनको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

पुल लामो समयसम्म सञ्चालनमा आउन नसकेमा स्थानीयको दैनिक आवतजावतसँगै पुलमा निर्भर पर्यटन व्यवसायसमेत प्रभावित हुने चिन्ता बढेको छ। पुल आसपासका चिया–नास्ता पसल, होटल तथा अन्य व्यवसायमा पर्यटकको चहलपहलले प्रत्यक्ष प्रभाव पार्दै आएकाले पुलको शीघ्र मर्मत तथा पुनः सञ्चालनको माग गरिएको छ।

ताजा समाचार