आईसीसी लिग–२ का लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय क्रिकेट टोली घोषणा

प्रकाशित मिति:

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

नेपाल, घरेलु टोली ओमान र क्यानाडा सम्मिलित उक्त त्रिकोणात्मक शृङ्खला आगामी अक्टोबर ७ (असोज २१) देखि सुरु हुँदैछ। लिग–२ को तालिकामा महत्वपूर्ण मानिएको यस भ्रमणका लागि घोषित टोलीमा क्यानले दुई खेलाडी परिवर्तन गरेको छ।

चोटका कारण एसीसी प्रिमियर कप गुमाएका तीव्र गतिका बलर नन्दन यादवले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् भने स्पिनर साहब आलमलाई पनि १५ सदस्यीय टोलीमा समावेश गरिएको छ। पछिल्लो समय टोलीमा रहेका हेमन्त धामी भने यसपटक बाहिरिएका छन्।

उता खराब लयका कारण नेदरल्यान्ड्स सिरिजपछि ‘नेपाल ए’ मा झारिएका प्रमुख ओपनर कुशल भुर्तेलले यसपटक पनि एकदिवसीय टोलीमा स्थान बनाउन सकेनन्। यस्तै, अनुभवी खेलाडीहरू सोमपाल कामी, आरिफ शेख र भीम सार्कीले समेत टोलीमा पुनरागमन गर्न सकेका छैनन्।

टोलीमा कप्तान सन्दीपसँगै पूर्वकप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, करण केसी, गुलशन झा, ललित राजवंशी, देव खनाल, अर्जुन कुमाल, सन्दीप जोरा, ईशान पाण्डे, बसिर अहमद र शेर मल्ल रहेका छन्।

ताजा समाचार