महेन्द्रनगरका पाँच बोडिङ्ग स्कुलमा लगाएको ताला खोल्ने सहमती,

महेन्द्रनगर । कञ्चनपुरका संस्थागत विद्यालयहरुमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले लगाएको ताला खोल्ने सहमती भएको छ । सोमवार भीमदत्त नगरपालिकामा नगर उपप्रमुख नीलम लेखक जोशीको अध्यक्षतामा बसेको बैठकमा ताला खोल्न अखिल क्रान्तिकारी सहमत भएको हो ।

उक्त बैठकले भीमदत्त नगरपालिकाबाट अर्को निर्णय नभएसम्मका लागि संस्थागत विद्यालयले २०८० सालकै मासिक शुल्क लिने, संस्थागत विद्यालयहरुले वृद्धि गरेको शुल्क घटाई २०८० सालकै कायम गरे/नगरेको अनुगमन गर्न तथा विद्यालयले लिने गरेको भर्ना एवम् अन्य शुल्क पाठ्यपुस्तक व्यवस्थापन तथा विद्यालय वर्गीकरण लगाएतका विषयमा सुझाव सहितको प्रतिवेदन पेश गर्न भीमदत्त नगरपालिकाले प्याब्सन, एन–प्याब्सन र विद्यार्थी संगठनहरुको समेत प्रतिनिधित्व हुने गरी अनुगमन तथा सुझाव समिति गठन गर्ने, र विद्यालयहरुमा अखिल क्रान्तिकारीले लगाएको ताला खोल्ने निर्णय भएको छ ।

संस्थागत विद्यालयहरुले चर्को शुल्क असुल्ने गरेको, प्रत्येक वर्ष भर्ना शुल्क लिने गरेको जस्ता कुराहरु देखाउँदै विद्यार्थी संगठनले केही विद्यालयहरुमा ताला लगाएको कुरा जानकारीमा आएपछि उक्त समस्या समाधान तथा विद्यार्थीहरुको पठनपाठनलाई मध्यनजर गर्दै बैठक बसेको र सैस्थागत विद्यालयले शुल्क गत वर्ष अनुसार लिने र विद्यार्थी संगठनले तत्काल ताला खोल्ने लगाएतका निर्णय भएको नगर उपप्रमुख जोशीले बताइन् ।

बैठकमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख चक्रराज जोशी, ससस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्द, राष्ट्रिय अनुसन्धान विभागका नरेश बहादुर बम, शिक्षा विकास तथा समन्वय ईकाइ कञ्चनपुरका प्रमुख दिपकराज कलौनी, नगर प्रवक्ता पदमराज अवस्थी, सामाजिक विकास संयोजक सुशिल कुमार भट्ट, प्याब्सका केन्द्रिय सल्लाहाकार हिरा चन्द, एन–प्याब्सनका प्रकाश पाण्डेय, अनेरास्ववियु कञ्चनपुर संयोजक अमर धामी, नेविसंघ कञ्चनपुरका सभापती रमेश चटौत, अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन विष्ट, लगाएत विद्यार्थी संगठनका कञ्चनपुर जिल्ला अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

आइतबार अखिल क्रान्तिकारीले महेन्द्रनगरका पाँच ओटा प्रतिष्ठित संस्थागत विद्यालयहरुमा चर्को शुल्क असुल्ने गरेको, प्रत्येक वर्ष भर्ना शुल्क लिने गरेको जस्ता कुराहरु देखाउँदै तालाबन्दी गरेको थियो ।

ताजा समाचार