काठमाडौं । गणेश नेपाली आत्मदाह प्रकरणमा आन्दोलनरत पीडित पक्ष र सरकारी टोलीबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा भएको वार्ता निष्कर्षविहीन भएको छ । हिजो बेलुकी सुरु भई रातभर चलेको करिब १४ घण्टा लामो वार्तामा सहमति हुन नसकेपछि आज पुनः वार्तालाई निरन्तरता दिइने दुवै पक्षले बताएका छन् ।
वार्तामा सरकार पक्षबाट प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहाल, सचिवालय सदस्य सञ्जीव पाण्डे, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं लगायतको सहभागिता थियो । वार्ताका क्रममा सरकारले मृतक परिवारलाई १५ लाख रुपियाँ क्षतिपूर्ति दिन, मृतककी पत्नीलाई रोजगारी र छोराछोरीलाई निःशुल्क शिक्षा दिलाउन सकारात्मक रहेको जनाए पनि संसदीय छानबिनको साटो प्रशासनिक छानबिन गर्ने प्रस्ताव गरेपछि सहमति हुन नसकेको हो । यी विषयहरूलाई काठमाडौँ महानगरको जिम्मामा छोडेर सरकार पन्छिन खोजेको पीडित पक्षको आरोप छ ।
सम्बन्धित नगर प्रहरी तथा ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यान मुद्दा चलाउनुपर्ने, गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने र घटनास्थलको नामकरण गर्नुपर्ने मागमा सहमति जुट्न सकेको छैन । वार्ता समितिमा रहेका पठाओ राइडर प्रतिनिधि नवराज न्यौपानेले वार्ताका क्रममा दबाबमूलक व्यवहार भएको आरोप लगाएका छन् । सरकारी वार्ता टोलीमा रहेकी प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले भने सरकार घटनाप्रति संवेदनशील रहेको र चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेकी छिन् । सहमति हुन नसक्दा मृतक नेपालीको शव उठ्न सकेको छैन ।



