चाडपर्वसँगै कञ्चनपुर खेलकुदमय : गाउँदेखि नगरसम्म दर्जनौँ प्रतियोगिता

प्रकाशित मिति:

कञ्चनपुर । दसैँ, तिहार तथा छठलगायतका चाडपर्व नजिकिएसँगै कञ्चनपुर जिल्ला खेलकुदमय बनेको छ। चाडपर्वको अवसर पारेर स्थानीय क्लब, खेलकुद समिति तथा वन उपभोक्ता समितिहरूको आयोजनामा जिल्लाभर फुटबल तथा ब्याडमिन्टनलगायतका दर्जनौँ प्रतियोगिता सञ्चालन भइरहेका छन्।

महेन्द्रनगरमा ३२ विद्यालय सहभागी तेस्रो बासुदेव स्मृति सेभन ए साइड यू–१६ फुटबल र दोधारा चाँदनीमा १ लाख १ हजार पुरस्कार राशिको तेस्रो मेयर कप जारी छ। त्यस्तै कृष्णपुरमा वन संरक्षण र स्वास्थ्य सन्देशसहित तीन विधामा फुटबल, झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन तथा बेल्डाँडीमा क्षेत्र नम्बर १ स्तरीय फुटबल आयोजना हुँदैछ। यसैगरी पुनर्वासमा सुदूरपश्चिमभरका २९ टिम सहभागी हुने ६४ तोला चाँदीको ट्रफीसहितको ऐतिहासिक १६ औँ रनिङ्ग चाँदीकप खुला फुटबल सुरु हुन लागेको छ। चाडपर्वका बेला आयोजना हुने यी प्रतियोगिताले युवाहरूलाई लागुऔषधबाट टाढा राखी खेलकुद विकास, मनोरञ्जन र सामाजिक एकता मजबुत बनाउन ठूलो भूमिका खेलेको कञ्चनपुर जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

ताजा समाचार