काठमाडौं । नेपालीको महान् पर्व बडादसैँका अवसरमा राजधानी छाडेर आफ्नो थातथलो फर्किने यात्रुको सङ्ख्या बढेसँगै अग्रिम बस टिकट बुकिङमा तीव्र चाप देखिएको छ। यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार दसैँका लागि हालसम्म एक लाख ३० हजार १२९ जना यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेका छन्।
काठमाडौँ उपत्यकाका नयाँ बसपार्क गोंगबु, कलङ्की, कोटेश्वर, पुरानो बसपार्कलगायत प्रमुख टिकट काउन्टरहरूमा टिकट लिने सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ। विशेषगरी पूर्व तथा पश्चिम नेपालका लामो दूरीका गन्तव्यहरूका लागि धेरैजसो टिकट बुकिङ भइसकेको यातायात व्यवसायीहरूले जानकारी दिएका छन्।
यातायात व्यवस्था विभाग र व्यवसायी महासङ्घले तोकिएको सरकारी भाडादरमा मात्र टिकट खरिद–बिक्री गर्न, काउन्टरबाट आधिकारिक टिकट अनिवार्य लिन र यात्राको समयमा हुनसक्ने ठगी तथा असुविधाबाट जोगिन यात्रुहरूलाई सचेत गराएका छन्। प्रमुख बसपार्कहरूमा नेपाल प्रहरी र ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरी नियमित निगरानी तथा सहजीकरण गरिरहेका छन्।





