काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रियालाई निरन्तरता दिइने भएको छ। सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले उनीविरुद्ध उठेका विवादित विषयहरूमा थप अध्ययन गर्नुपर्ने भएकाले तत्काल निर्णय नटुङ्ग्याइएको जनाएको छ।
समितिको बुधबारको बैठकमा प्रस्तावित राजदूत खरेलसँग स्वार्थको द्वन्द्व, म्यानपावर व्यवसायीसँगको सम्बन्ध तथा पोखराको जग्गा खरिदमा भएको भनिएको अनियमिततालगायत विषयमा सांसदहरूले प्रश्न उठाएका थिए।
सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार परराष्ट्र ऐनमै राजदूतका लागि उच्च नैतिक चरित्र हुनुपर्ने व्यवस्था भएकाले उनीमाथि उठेका विषयहरूको थप अध्ययन र रुजु गर्न समितिलाई समय चाहिएको हो। प्रस्तावित राजदूत खरेल पनि अन्यायमा पर्न नहुने र समितिले पनि विवादरहित ढङ्गले निष्कर्ष निकाल्नुपर्ने बताउँदै सभापति श्रेष्ठले थप अध्ययनपछि मात्र आवश्यक निर्णय लिइने जानकारी दिए। सुनुवाइका क्रममा प्रस्तावित राजदूत खरेलले आफूमाथि लागेका आरोपहरूबारे प्रस्टीकरण दिएका थिए।





