सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण, पाठकको समिति सभापति पद खोसियो

प्रकाशित मिति:
spot_img

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गर्दै बजेट पारित गर्ने प्रक्रिया बहिष्कार गरेका दुई जना सांसदलाई नेकपा (एमाले) ले ४८ घण्टे स्पष्टीकरण सोधेको छ। साथै, प्रदेशसभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ।

पाठकलाई समिति सभापतिबाट हटाउन सिफारिस गरिएको पत्र सभामुख भीमबहादुर भण्डारीसमक्ष पुगिसकेको छ।

मङ्गलबार प्रदेशसभाबाट बजेट पारित गर्ने कार्यसूची रहेकाले एमालेले आफ्ना सम्पूर्ण सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन, बजेटको पक्षमा मतदान गर्न र तटस्थ नबस्न कडा ह्विप जारी गरेको थियो। तर, पार्टी निर्देशन विपरीत बैठकमा अनुपस्थित रहेका पूर्वमन्त्री वीरबहादुर थापा र सामाजिक विकास समिति सभापति पाठकलाई संसदीय दलले स्पष्टीकरण सोधेको हो।

पाठकले ह्विप जारी गर्ने संसदीय दलको बैठकसमेत बहिष्कार गरेका थिए भने थापा प्रदेशसभा भवन पुगे पनि बैठकमा हाजिर नगरी बाहिरिएका थिए। विवादका बीच बजेट पारित भएपछि थापाले प्रदेशसभा सदस्य पदबाट समेत राजीनामा दिइसकेका छन्। यद्यपि, एमालेले स्पष्टीकरण पत्रमार्फत थापालाई राजीनामा फिर्ता लिन आग्रह गरेको छ।

ताजा समाचार