काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ। शाखाले सूचना जारी गर्दै आगामी मङ्सिर १ गते (नोभेम्बर १७) देखि परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।
यस पटक परीक्षामा दुई नयाँ क्षेत्र थपिएका छन्। यसअघि उत्पादनमूलक तथा कृषि र पशुपालन क्षेत्रमा मात्र परीक्षा सञ्चालन हुँदै आएकोमा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्रसमेत समावेश गरिएको छ।
सार्वजनिक कार्यतालिका अनुसार नोभेम्बर १७ देखि सेवा क्षेत्र र नोभेम्बर १८ देखि वन क्षेत्रको परीक्षा सञ्चालन हुनेछ। यस्तै कृषि तथा पशुपालन क्षेत्रको परीक्षा नोभेम्बर २० बाट र उत्पादनमूलक क्षेत्रको परीक्षा डिसेम्बर ११ देखि सुरु हुनेछ। परीक्षा आगामी सन् २०२७ फेब्रुअरी २५ सम्म जारी रहने शाखाले जनाएको छ।
यस पटकको परीक्षाका लागि कुल ७६ हजार १७३ जनाले आवेदन दिएका छन्। सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा ५३ हजार १०३ जनाले आवेदन दिएका छन्। यसैगरी कृषि तथा पशुपालनमा २० हजार ९०७, वन क्षेत्रमा एक हजार १२४ र सेवा क्षेत्रमा एक हजार ३९ जना परीक्षार्थी सहभागी हुनेछन्।





